झापामा बर्डफ्लू नियन्त्रणबाहिर, थप फार्ममा संक्रमण पुष्टि



झापा, वैशाख २— झापाका कुखुरा फर्महरूमा चैतको पहिलो सातादेखि फैलिएको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) को प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। संक्रमण फैलिँदै जाँदा किसानहरू चिन्तित बनेका छन् भने सरोकारवाला निकायले निगरानी कडाइ गरेका छन्।

गत चैत ९ गते दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्ममा पालेका कुखुरामा पहिलोपटक संक्रमण पुष्टि भएको थियो। त्यसपछि रोग नियन्त्रणका लागि सो फार्ममा रहेका करिब १४ हजार कुखुरा, १५० अन्डा र दाना नष्ट गरिएको थियो।

संक्रमण विस्तार हुने क्रम रोकिएको छैन। गत साता कमल गाउँपालिका का किसान उज्वल भण्डारीले पालेका कुखुरामा पनि बर्डफ्लू देखिएको पुष्टि भएको छ। पशु प्राविधिक टोलीले उक्त फार्मका करिब १,५०० कुखुरा र १५ क्रेट अन्डा नष्ट गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ले जनाएको छ।

संक्रमण फैलिन नदिन सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ भने प्रभावित क्षेत्रका किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।विशेषज्ञहरूले संक्रमण थप फैलिन नदिन जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्