“नयाँ वर्षको रमाइलो बन्यो शोक: कालीगण्डकीमा बेपत्ता दुई युवक मृत फेला”
पाल्पा, वैशाख ३। नयाँ वर्षका दिन कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन्।
पाल्पाको बगनासकाली–७, दैलातुङस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा बगनासकाली–९, चापपानीका ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खोजीका क्रममा बस्यालको शव पौडी खेलेको स्थान नजिकै नदीको बीच भागमा र भुसालको शव नदी किनारमा फेला परेको हो। मृतक बस्याल बगनासकालीस्थित चन्द्र माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएको थियो।
प्रहरीका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार बस्यालको शव बुधबार बिहान र भुसालको शव बिहीबार बिहान फेला परेको हो।उनीहरू बेपत्ता भएपछि जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरेको थियो।

