रास्वपाले संसदीय समिति सभापतिमा उम्मेदवार टुंग्यायो, मुख्य सचेतकमा बुर्लाकोटी चयन
काठमाडौँ, वैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवारको नाम टुंगो लगाउँदै मनोनयन दर्ता गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले विभिन्न समितिहरूमा सभापति पदका लागि नाम चयन गरेको हो । बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई उम्मेदवार बनाइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीको नाम टुंगो लगाइएको छ ।
संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीलाई उम्मेदवार बनाइएको छ ।संघीय संसद्मा कुल १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र दुई वटा संयुक्त समिति रहेका छन् ।
यसैबीच, बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ । रास्वपाले प्रतिनिधिसभाको लेखा समितिको सभापति भने नेपाली कांग्रेसलाई दिने निर्णयसमेत गरेको जनाएको छ ।

