१० करोडभन्दा बढी अनियमितता आरोपमा पूर्व आयुक्त तिवारीविरुद्ध मुद्दा



काठमाडौं, वैशाख ३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तिवारीमाथि १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा बराबरको रकम हिनामिना गरेको आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार तिवारीको आयको तुलनामा खर्च अस्वाभाविक रूपमा बढी देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा स्रोत नखुलेको सम्पत्ति देखिएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यसै मुद्दामा तिवारीकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूविरुद्ध गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत तथा कानुनी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्