नुवाकोट पञ्चकन्यामा कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सुरु



पञ्चकन्या, वैशाख ३ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको पशु विकास शाखाको आयोजनामा घरपालुवा, सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप अभियान आजबाट सुरु भएको छ।

गाउँपालिकाभित्र सञ्चालन गरिएको उक्त शिविर वैशाख ५ गतेसम्म चल्ने पशु सेवा शाखाकी सम्झना थापाले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ४५ वटा कुकुरको बन्ध्याकरण गरिनुका साथै रेविज विरुद्धको एन्टि–रेबिज खोपसमेत लगाइएको छ।

शिविर अहिले वडा नम्बर १, २ र ३ मा सञ्चालन भइरहेको भए पनि गाउँपालिकाभित्रका सबै क्षेत्रका पशु चौपायालाई समेट्ने लक्ष्य राखिएको छ। गाउँपालिकामा करिब ६ हजार ३ सय पशु चौपाया रहेका छन् भने कुकुरको संख्या करिब ८ सयको हाराहारीमा रहेको बताइएको छ।

कार्यक्रममा विशेषगरी छाडा कुकुरलाई प्राथमिकतामा राखिएको छ।गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको उक्त अभियानमा छुटेका कुकुरलाई आगामी दिनमा पुनः समेटिने पशु सेवा शाखाले जनाएको छ।

स्थानीयस्तरमा रेविज नियन्त्रण तथा पशु व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो अभियान महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्