एनपीएलमा आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै



काठमाडौं,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पूर्वविजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।

हिजो विश्राम रहेको प्रतियोगितामा आजको पहिलो खेललाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। जारी संस्करणमा अपराजित रहेको लुम्बिनी लायन्स ५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेल खेलेको लुम्बिनीले दुई जित हासिल गरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ। अब थप एक जितले लुम्बिनीलाई प्लेअफ प्रवेशको सम्भावना बलियो बनाउनेछ।

पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले यस संस्करणमा सुधारिएको प्रदर्शन गरिरहेको छ। चार खेलमा दुई जित र दुई हार बेहोरेको जनकपुर ४ अंकसहित तालिकाको चौथो स्थानमा छ।

लुम्बिनी र जनकपुरबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ। पहिलो संस्करणमा जनकपुरले लुम्बिनीलाई एक रनले पराजित गरेको थियो भने दोस्रो संस्करणमा लुम्बिनीले चार विकेटको जित निकालेको थियो।

आजको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्