बाढीले ध्वस्त देवीघाटको सिटिजन्स बैंक शाखा बट्टारमा पुनः सञ्चालन
नुवाकोट,कात्तिक १९ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याइएको छ ।
विदुर नगरपालिका–२ बट्टारमा स्थानान्तरण गरिएको बैंकको शाखा करिब साढे दुई महिनापछि औपचारिक रूपमा सञ्चालनमा आएको हो । बट्टार बजारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
सेवाग्राहीलाई सहज, सुलभ र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले देवीघाटबाट करिब ६ किलोमिटर दूरीमा रहेको बट्टारमा शाखा पुनःस्थापना गरिएको बैंकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले आर्थिक क्षेत्रको विकास र नागरिकको समृद्धिका लागि प्रतिकूल परिस्थितिका बीच पनि बैंकिङ सेवा निरन्तरता दिन शाखा स्थानान्तरण तथा पुनः सञ्चालन गरिएको बताए । देवीघाट शाखा पूर्ण रूपमा ध्वस्त भए पनि त्यहाँ कार्यरत कर्मचारीहरू सुरक्षित रहन सफल भएको उनले उल्लेख गरे ।
ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बट्टारमा शाखा सञ्चालनमा ल्याइएको बताउँदै पोखरेलले कठिन परिस्थितिमा शाखा पुनःस्थापनाका लागि योगदान गर्ने कर्मचारीको प्रशंसा गरे । उनले आगामी दिनमा अझ गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बट्टारमा सञ्चालनमा आएको सुविधासम्पन्न शाखामार्फत ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण खुद्रा बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । साथै, साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसमेत बैंकले लिएको छ ।
बैंकका शाखा प्रमुख ठाकुरप्रसाद धितालका अनुसार शाखामार्फत ग्राहकलाई आवश्यक बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीलाई वित्तीय पहुँचमा जोड्ने काम गरिनेछ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क तथा मधुमेह परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । शिविरबाट ५० जनाभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएको शाखा प्रमुख धितालले जानकारी दिए ।
सिटिजन्स बैंक इन्टरनेसनलले हाल नुवाकोटसहित देशका ६१ जिल्लामा दुई सय शाखा, एक सय ६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बागमती प्रदेशमा बैंकका ५६ शाखा सञ्चालनमा रहेका छन् ।

