राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै



काठमाडौं,कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनका असर्फी र चाँदीका मेडालियन सिक्का बिक्री सुरु गर्ने भएको छ।

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद–बिक्री हुनेछ। बिक्री आज र भोलि दुई दिनसम्म सञ्चालन हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिएका छन्।

तिहारमा सुन–चाँदीका सिक्का तथा धातु खरिद गरी लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वासका कारण राष्ट्र बैंकले हरेक वर्ष विशेष रूपमा सिक्का बिक्री गर्दै आएको छ।

गत वर्ष सुनको अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष वाणिज्य बैंकबाट सुन खरिद गरी सुनका असर्फीसमेत बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न सक्नेछन्।

सुनका असर्फी र चाँदीका मेडालियनको मूल्य सोही दिनको सुन तथा चाँदीको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।

सिक्का खरिद गर्न इच्छुक व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्