टोखासहित देशका विभिन्न स्थानमा लागुऔषध विरुद्ध प्रहरीको अपरेशन : २४ जना पक्राउ
काठमाडौं, वैशाख ४ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई जना, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक जना पक्राउ परेका छन्। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई जना पक्राउ पर्दा कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल क्षेत्रबाट दुई जना नियन्त्रणमा लिइएका छन्।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक जना, चितवनको रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई जना र झापाको कनकाई नगरपालिका–३ सुरूङगाबाट पाँच तथा टप्पु चोकबाट थप दुई जना पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई जना, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई जना र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका सबैलाई बिहीबार नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

