डुङ्गा दुर्घटनामा बुबा–छोरा बेपत्ता
अछाम, वैशाख ४ । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबा–छोरा बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन्।
प्रहरीका अनुसार वैशाख ३ गते बेलुका कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्किने क्रममा एक्कासि डुङ्गा पल्टिँदा चालक रहेका बुढा र सवार उनका छोरा नदीमा बेपत्ता भएका हुन्।
बेपत्ताको खोजीका लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौकी भैरवस्थान, ढुङ्गाचाल्ना र ढकारीबाट प्रहरी टोली परिचालन गरिएको छ। साथै सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिमप्राप्त टोली पनि घटनास्थलतर्फ परिचालन हुँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
घटनापछि स्थानीयवासीसमेत खोजी कार्यमा जुटेका छन् भने नदीमा पानीको बहाव तीव्र भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

