स्वास्थ्य संस्थामा पनि अब हप्तामा दुई दिन बिदा



काठमाडौँ, वैशाख ४ — स्वास्थ्य संस्थाहरूमा पनि अब हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।यद्यपि बिदाका दिनमा पनि बिरामीको उपचारमा कुनै अवरोध नआउने मन्त्रालयले स्पष्ट पारेको छ। आकस्मिक तथा अन्तरङ्ग सेवाहरू २४ सै घण्टा सञ्चालनमा रहनेछन् भने आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू (ओटी) बिरामीको अवस्थाअनुसार पुनः तालिका (रिसेड्युल) गरिनेछ।

मन्त्रालयले बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा प्रदान गर्न निर्देशन दिएको छ। आवश्यक सेवा उपलब्ध नभएको अवस्थामा नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा सधैँ तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, बिदाका दिन उपलब्ध हुने सेवाहरूको विवरण अस्पतालको वेबसाइट तथा सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले अस्पताल सुधार कार्यविधि, २०८२ को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन सर्भेपछि स्वास्थ्य सेवालाई अझ सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्