काँग्रेस संसदीय दलको नेता छनोट प्रक्रिया लम्बियो, भोलि पुनः बैठक बस्ने



काठमाडौं, वैशाख ४ — नेपाली काँग्रेस संसदीय दलको नेता छनोट प्रक्रिया आज पनि टुंगिन सकेन। शुक्रबार बसेको काँग्रेस सांसदहरूको बैठकले आवश्यक छलफल नटुंगिएकाले भोलि पुनः बैठक बस्ने निर्णय गर्दै आजको बैठक स्थगित गरिएको हो।

पार्टीका सहमहामन्त्री प्रकाश रसाइली ले संसदीय दलको विधान संशोधन गर्ने तयारी भइरहेकाले प्रक्रिया केही लम्बिएको जानकारी दिनुभयो। उहाँका अनुसार संशोधनसहित सहमतिको आधारमा नेता चयन गर्ने प्रयास भइरहेको छ।

आजको बैठकमा दलको नेता बन्न इच्छुक सांसदहरूसहित करिब २५ जना सांसदहरूले आफ्ना धारणा राखेका थिए। अधिकांशले नेता चयनमा ढिलाइ भइरहेको भन्दै चासो व्यक्त गरेका थिए।

पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्दै सहमतिको वातावरण बनाएपछि मात्रै नेता चयन गर्ने काँग्रेसको तयारी रहेको जनाइएको छ।विशेष महाधिवेशनपछि निर्वाचनमा होमिए पनि अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र मतभेद बढ्दै गएको छ।

यसैबीच, काँग्रेसले विभिन्न पक्षबीच निरन्तर छलफल गर्दै संसदीय दलको नेता सहमतिमै टुंग्याउने रणनीति अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्