घरदैलोमै पुगेर राहदानी वितरण



तनहुँ,बैशाख ५ — जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गराउने सेवा सुरु गरिएको छ। सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्दै यो सेवा सुरु गरिएको हो।

व्यास नगरपालिका–५ बरबोटे निवासी समीक्षा ओझालाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शुक्रबार घरमै पुगेर राहदानी उपलब्ध गराउनुभएको छ। सरकारद्वारा जारी प्रमाणपत्रहरू घरमै पु¥याउने निर्णयअनुसार जिल्लामा राहदानी सेवा यसरी सुरु गरिएको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार सेवा प्रदान गर्ने कार्यालयले प्रमाणपत्र हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरमै पु¥याउने व्यवस्था मिलाइएको छ। सेवाग्राहीले फारम भर्दा कार्यालयबाट सेवा लिने वा घरमै लिने विकल्प छनोट गर्न सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ।

जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले सरकारको १०० बुँदे कार्यसूचीको २७ नम्बर बुँदाअनुसार हुलाक सेवालाई प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको जानकारी दिनुभयो।पहिलो दिन चार जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको उहाँले बताउनुभयो।

सेवा प्रभावकारी बनाउन जिल्लाभरका हल्काराहरूको क्षेत्र निर्धारण गरिएको छ। “जसरी चिठीपत्र वितरण गरिन्छ, त्यसरी नै अब सरकारी कागजपत्र पनि घरमै पु¥याउने व्यवस्था मिलाएका छौँ,” उपाध्यायले भन्नुभयो।

राहदानीका लागि फारम भर्दा सेवाग्राहीबाट विस्तृत ठेगाना, परिचय खुल्ने विवरण र मोबाइल नम्बर लिइने भएकाले घरमै सेवा दिन सहज भएको बताइएको छ। घरमै राहदानी प्राप्त गरेपछि समीक्षा ओझाले सरकारको यो निर्णयले सर्वसाधारणलाई सहज हुने प्रतिक्रिया दिँदै सार्वजनिक सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बन्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्