आठ रात नौ दिनको रौनकपछि बिस्का जात्रा समापन, रथ तानातानसँगै उत्सवको बिदाइ



भक्तपुर, वैशाख ५ — भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा शनिबार विधिवत रुपमा समापन गरिएको छ। आठ रात नौ दिनसम्म विभिन्न जात्रा र परम्परागत गतिविधिसहित मनाइने यो पर्व रथ तानातानसँगै सम्पन्न भएको हो।

शनिबार साँझ गहिती टोलमा रहेको भैरवनाथको तीनतले रथ तानेपछि जात्रा औपचारिक रुपमा अन्त्य गरिएको हो। गहिती टोलमा रथ पुर्‍याइएपछि स्थानीय बासिन्दाले पहिलो दिनझैं आ–आफ्नो टोलतर्फ रथ तान्ने प्रतिस्पर्धात्मक परम्परा निर्वाह गरेका थिए। यस दिनलाई “द्यो थाहा विज्याइगु” अर्थात् देवतालाई सवारी गराउने दिनका रूपमा लिने गरिन्छ।

रथलाई विधिपूर्वक पूजा गरेपछि दुवै तर्फबाट डोरीले तानातान गर्नु नै जात्राको मुख्य आकर्षण मानिन्छ। अन्ततः रथलाई तमारी क्षेत्रमा पुर्‍याएपछि जात्रा समापन हुने परम्परा छ।

यसैबीच शनिबार बिहान कुमाले टोलमा “योसिं द्यो” अर्थात् लिङ्गो ढालिएको छ। चैतको अन्तिम दिन प्रजापति समुदायले कुमाले टोलस्थित जेठा गणेश मन्दिर परिसरमा उभ्याएको उक्त लिङ्गो स्थानीयले बाजागाजासहित पूजा गरी डोरीले तानेर ढालेका हुन्।

बिस्का जात्रा भक्तपुरको पहिचानसँग जोडिएको प्रमुख सांस्कृतिक पर्व हो, जसले परम्परा, समुदाय र आस्थाको अद्वितीय संगम प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्