२४ घन्टामा २० विपद् घटना : पाँच घाइते, लाखौँको क्षति



काठमाडौं, वैशाख ५ — पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशलगायत २० वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनामा मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत सर्ट भई भएको आगलागीमा एक घरमा रहेको करिब १५ लाख रुपैयाँ बराबरको सुनचाँदी र नगद जलेर नष्ट भएको छ। यस्तै, सुनसरीको बराहक्षेत्र–७ मा भएको आगलागीमा करिब पाँच लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ। नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले उल्लेख्य क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ।रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ।

गर्मी बढेसँगै वन डढेलोको जोखिम पनि तीव्र बनेको छ। मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ। डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय तथा सुरक्षा निकाय सक्रिय रूपमा खटिएका छन्।

सर्पदंशका घटनामा झापा, पाल्पा र बर्दियामा तीन जना घाइते भएका छन्। कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया वृद्धा घाइते भएकी छन् भने सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। सबै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये पाँच बाख्रा मृत र सात घाइते अवस्थामा फेला परेका छन्। अधिकांश घटनामा स्थानीयवासी, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आगलागी र डढेलोको जोखिम बढ्दो रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्