५०% प्रगति पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ९ महिनाभित्र सक्ने लक्ष्य



चितवन, बैशाख ५ — चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको साझेदारीमा निर्माण भइरहेको रंगशालामा अहिले मुख्य संरचनासँगै मैदान निर्माणको काम तीव्र पारिएको छ।

रंगशालाको मैदान बनाउन सुरु भइसकेको छ भने वर्षाअघि नै बर्मुडा घाँस रोप्ने तयारी गरिएको छ। त्यसका लागि मैदान सम्याउने र पानी निकासका लागि ड्रेनेज पाइप जडान गर्ने काम भइरहेको छ। नयाँ प्रविधिमा आधारित स्तरीय मैदान निर्माण भइरहेको महानगरले जनाएको छ।

वि.सं. २०८१ असार २३ गते भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएपछि भदौदेखि निर्माण कार्य अघि बढेको हो। यसअघि धुर्मुस–सुन्तली फाउण्डेसनले आर्थिक अभावका कारण परियोजनाबाट हात झिकेपछि रंगशाला लामो समय अलपत्र परेको थियो।

७८ करोड ५० लाख रुपैयाँ लागतमा अघि बढाइएको आयोजनाअन्तर्गत हाल प्याराफिट, दुईवटा भीआइपी टावर र मैदान निर्माणको काम भइरहेको छ। चार ब्लकमध्ये तीनवटा प्याराफिट निर्माण सम्पन्न भइसकेका छन् भने भीआइपी टावरका दुई तलासम्मको ढलान सकिएको छ र आन्तरिक काम अन्तिम चरणमा पुगेको छ।

पहिलो चरणअन्तर्गत १५ हजार दर्शक क्षमताको प्याराफिट, अन्तर्राष्ट्रिय मापदण्डको मैदान तथा पिच, दुईवटा भीआइपी टावर र स्कोरबोर्ड निर्माण गरिनेछ। तर, यस चरणमा फ्लड लाइट र प्याराफिटमा कुर्सी भने समावेश गरिएको छैन।

रंगशालालाई पूर्ण अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक फ्लड लाइट र सिट व्यवस्थापनका लागि महानगरले संघीय सरकारसँग सहयोग माग गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट प्रस्ताव गर्ने योजना रहेको छ।

सम्झौताअनुसार निर्माण कम्पनीले आउँदो पुस मसान्तभित्र रंगशाला निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ। यद्यपि, निर्धारित समयमै काम सम्पन्न गर्न निर्माणको गतिमा थप तीव्रता आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्