विदुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
नुवाकोट, बैशाख ५ — “प्रथम विदुर मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८३” को समापन गरिएको छ। विदुर नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैशाख ३, ४ र ५ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिता विदुर–२ बट्टारस्थित नुवाकोट ब्याडमिन्टन कभर्डहलमा आयोजना गरिएको थियो। तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिता विदुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय नुवाकोटको आयोजनामा सम्पन्न भएको हो भने नुवाकोट जिल्ला ब्याडमिन्टन संघ सह–आयोजकका रूपमा रहेको थियो। साथै जिल्ला खेलकुद विकास समिति, नुवाकोटले समन्वय गरेको थियो भने प्राविधिक सहयोग नेपाल ब्याडमिन्टन महासंघ, काठमाडौंले प्रदान गरेको थियो।
समापन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले खेलकुदको विकास र प्रवर्द्धनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने उल्लेख गर्नुभयो।

