हाईकिङ्गका क्रममा लडेर बेहोस भएकी महिला सकुशल उद्धार
काठमाडौं, बैशाख ५ — काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–१ जामाचो क्षेत्रमा हाईकिङ्गका क्रममा लडेर घाइते भएकी एक महिलाको नेपाली सेनाले शनिबार सकुशल उद्धार गरेको छ।
धादिङ जिल्ला निवासी २९ वर्षीया ती महिला हाईकिङ्ग गर्ने क्रममा खुट्टा अल्झिएर करिब ५० मिटर तल खस्दा बेहोस भएकी थिइन्। घटनापछि तत्काल खटिएको भैरवीदल गणको उद्धार टोलीले उनलाई सुरक्षित रूपमा उद्धार गरेको हो।
उद्धारपछि घाइते महिलालाई थप उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ। समयमै गरिएको उद्धारका कारण उनको ज्यान जोगिएको बताइएको छ।
यस घटनाले पहाडी क्षेत्रमा हाईकिङ्ग गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

