रूख ढलेर टेम्पोमा दुर्घटना : दुईको मृत्यु, तीन घाइते



जलेश्वर,बैशाख ५ — जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पोमाथि शनिबार साँझ अचानक रूख ढल्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जलेश्वर नगरपालिका–९ स्थित परिकौली ब्यारेक नजिकै गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि सपेता (मसला) को जीर्ण रूख ढल्दा सवार पाँच जना यात्रु च्यापिएका थिए। घटनापछि उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याइएको थियो।

उपचारका क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने ४१ वर्षीया शकुन्तला देवी पण्डित र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मलिक रहेका छन्।

दुर्घटनामा टेम्पो चालक जलेश्वर नगरपालिका–११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो।

त्यस्तै, मृतक शकुन्तलाकी १४ वर्षीया छोरी रिया पण्डित, महोत्तरीको एकडारा बस्ने ४३ वर्षीया फेकनी देवी र जनकपुर उपमहानगरपालिका–१२ बस्ने १६ वर्षीय धीरज मण्डल घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि जनकपुर रेफर गरिएको प्रहरीले जनाएको छ। शनिबार साँझ चलेको हावाहुरीका कारण सडक किनारमा रहेको जीर्ण रूख ढलेर दुर्घटना भएको हो। टेम्पो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार कार्य गरेको थियो। मृतकको शव हाल प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।

स्थानीयवासीले सडक छेउका जोखिमपूर्ण र जीर्ण रूखहरूको समयमै व्यवस्थापन नभएकाले यस्ता दुर्घटना दोहोरिने जोखिम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्