निजी अस्पतालमा १०% निःशुल्क शैया सेवा सुरु, तर सेवा लिने बिरामीको सहभागिता न्यून



काठमाडौं,बैशाख ६ । सरकारले निजी अस्पतालहरूमा पनि १० प्रतिशत निःशुल्क शैया सेवा लागू गरेको छ। नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्यको हकअनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत यो सुविधा सुरु गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका सातै प्रदेशका अस्पतालहरूबाट यो सेवा उपलब्ध हुनेछ। हालसम्म देशभर कुल ९ सय ४० शैया निःशुल्कका लागि छुट्याइए पनि प्रयोगमा भने ८ सय ४० शैया मात्र सक्रिय छन्।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै शैया कोशी प्रदेशमा २ सय २ रहेको छ भने बागमती प्रदेशमा १ सय ९३ शैया उपलब्ध छन्। सबैभन्दा कम मधेश प्रदेशमा ९१ शैया मात्र रहेको छ।

तर, यति धेरै शैया निःशुल्क उपलब्ध हुँदा पनि सेवा लिने बिरामीको संख्या निकै न्यून देखिएको छ। हालसम्म जम्मा ८ जना बिरामीले मात्र सेवा लिएका छन्। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा भने एक जना पनि बिरामी भर्ना नभएको मन्त्रालयले जनाएको छ।

सरकारको १०० दिने प्राथमिकता कार्यक्रमअन्तर्गत बुँदा नम्बर ८५ कार्यान्वयन गर्दै पहिलो चरणमा यो सेवा गरिब, असहाय तथा विपन्न वर्गका बिरामीका लागि लक्षित गरिएको हो। हालसम्म निजी र सरकारी गरी ६३ वटा अस्पताल यस अभियानमा आबद्ध भइसकेका छन्।

सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन मापदण्डअनुसार अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनु अनिवार्य छ। यद्यपि, यसअघि यस्तो व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।

यसलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सेवा व्यवस्थापन सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्