सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन
काठमाडौं,बैशाख ६ — नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न कडा निर्देशन दिएको छ।
काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता प्लेटफर्म प्रयोग गरी बिरामीको प्रत्यक्ष परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्नुभएको हो।काउन्सिलले ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न पनि चिकित्सकहरूलाई सचेत गराएको छ। बिरामीसँग सम्बन्धित भिडियो वा अडियो सामग्री सार्वजनिक गर्ने, उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने वा औषधि सिफारिस गर्ने जस्ता गतिविधि नगर्न निर्देशन दिइएको छ।
काउन्सिलका अनुसार सामाजिक सञ्जालमा फैलिने अवैज्ञानिक र गैरजिम्मेवार सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्न सक्ने र गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम उच्च रहेको छ।
रजिष्ट्रार डा देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण, आवश्यक जाँच तथा चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु जोखिमपूर्ण हुने बताउनुभयो। यस्ता सल्लाहले अनावश्यक जटिलता बढाउने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने उहाँको भनाइ छ।
काउन्सिलले सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगर्न र योग्य तथा दर्ताप्राप्त चिकित्सकसँगको परामर्शपछि मात्र औषधि सेवन गर्न आग्रह गरेको छ। साथै, बिरामीसँग सम्बन्धित सामग्री सार्वजनिक गर्नुपरेमा अनुहार तथा पहिचान नखुल्ने गरी सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।

