प्रधानमन्त्री र मन्त्रीको समयपालनले सिंहदरबारमा अनुशासन सुधार
काठमाडौँ, वैशाख ६ । पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री तथा मन्त्रीहरू बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समयपालनाको सकारात्मक सन्देश दिएको छ ।
प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय उपस्थित हुनु र जिम्मेवारीपूर्वक काम गर्नु सुशासनको पहिलो सर्त मानिन्छ । नेतृत्व तह नै समयमै कार्यालय आउने र पूरा समय बस्ने भएपछि कर्मचारी पनि स्वतः समयमै उपस्थित हुने गरेका छन् ।
यस अभ्यासले सरकारी सेवा प्रवाहमा सुधार ल्याउनुका साथै कर्मचारीमा अनुशासन, जिम्मेवारीबोध र कार्यप्रतिको प्रतिबद्धता बढाएको देखिएको छ । नेतृत्व तहको समयपालनले तल्लो तहका कर्मचारीलाई समेत समयको पालना गर्न प्रेरित गरेको छ, जसका कारण कार्यसम्पादनमा चुस्तता आएको छ । साथै ढिलासुस्ती कम भई काममा प्रभावकारिता बढेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालका अनुसार प्रधानमन्त्री बिहान ९ बजे नै कार्यालय पुगेर साँझ ५ बजेदेखि साढे ५ बजेसम्म बस्ने गर्नुभएको छ । उहाँका अनुसार कार्यालय समयभित्र कुनै प्रकारका राजनीतिक भेटघाट, प्रतिनिधिमण्डलसँगको भेट वा उद्घाटन, शिलान्यासजस्ता कार्यक्रममा सहभागिता नराखी प्रधानमन्त्री कार्यालयकै काममा केन्द्रित रहने गर्नुभएको छ ।
प्रवक्ता अर्यालका अनुसार कार्यालय प्रमुख नै समयमै आएर पूरा समय बस्दा कर्मचारीमा उत्साह र अनुशासन दुवै बढेको छ । अहिले ९ नबज्दै ९० प्रतिशतभन्दा बढी कर्मचारी कार्यालय पुगिसक्ने गरेका छन् भने अधिकांश कर्मचारी साँझ ५ बजेपछि मात्र कार्यालयबाट बाहिरिने गरेका छन् । कामको चाप हुँदा समयको समेत ख्याल नहुने अवस्था रहेको बताइएको छ । यसअघि भने ५ बज्नुअघि नै कर्मचारी बाहिरिने प्रवृत्ति देखिन्थ्यो ।
पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रधानमन्त्री र मन्त्री समयमै कार्यालय पुगेपछि कर्मचारीमा समयपालनको बाध्यता सिर्जना हुनुका साथै काममा सहजता आएको बताउनुभयो । उहाँका अनुसार नेतृत्व र कर्मचारीबीचको समन्वय बढ्दा निर्णय प्रक्रिया छिटो भएको छ र प्रशासन तथा राजनीतिक नेतृत्वबीचको सम्बन्ध सुदृढ बनेको छ । त्यस्तै, पूर्वसचिव मणिराम गेलालले निर्धारित समयमा कार्यालय उपस्थित हुनु प्रशासनिक सुधारका लागि महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार यसले सेवा प्रवाहलाई छिटोछरितो बनाउनुका साथै कर्मचारीमा अनुशासन र समयपालनको सन्देश प्रवाह गरेको छ ।
समग्रमा, प्रधानमन्त्री र मन्त्रीको समयपालनले सिंहदरबारमा प्रशासनिक सुधारको संकेत देखिएको छ । यसले सुशासन प्रवर्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

