जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते
सल्यान,बैशाख ६ । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शनिबार साँझ बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्ण बहादुर पुन र ३० वर्षीय मन बहादुर थापाको मृत्यु भएको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। तीन जनालाई जिल्ला अस्पताल सल्यानमा मृत घोषणा गरिएको थियो भने एक जनाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सोही वडाका भुपेन्द्र कँवर, भुल बहादुर थापा, जुग सिंह पुन, कुल बहादुर राना, अम्मर सिंह कँवर, डम्मर घर्ती र जनक थापासहित अन्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल सल्यान र मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार जन्तीका लागि छुटेका तीन वटा गाडीमध्ये एउटामा राँगा, अर्कोमा दुलाहा–दुलही र अर्कोमा १८ जना जन्ती सवार थिए।जन्ती सवार उक्त गाडी दुर्घटनामा परेको हो। दुलहाको घरबाट छुटेको करिब आधा घण्टामै दुर्घटना भएको प्रहरीले जनाएको छ।

