सिंहदरबारमा जनताको चाहना मात्रै गुन्जिएको छ : सञ्चारमन्त्री तिमिल्सिना



नुवाकोट, वैशाख ६ । सञ्चारमन्त्री डाक्टर विक्रम तिमिल्सिना ले सिंहदरबारभित्र जनताको चाहना मात्रै गुन्जिरहेको बताएका छन् । आइतबार बिहान नुवाकोटको छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री तिमिल्सिनाले सरकार गठन भएको तीन हप्ता बित्दै गर्दा जनतालाई केन्द्रमा राखेर बिहानदेखि बेलुकासम्म काम गर्ने मन्त्रीहरू रहेको वर्तमान सरकार नेपालकै इतिहासमा पहिलोपटक भएको दाबी गरे । उनले बालेन शाह नेतृत्वको सरकार जनतामुखी ढंगले अघि बढिरहेको उल्लेख गरे ।

उनले विगतमा राजनीतिलाई प्रयोग गरी लोकतन्त्रको सट्टा बिचौलियातन्त्र खडा भएको आरोप लगाउँदै त्यसलाई अन्त्य गर्न वर्तमान सरकार लागिपरेको बताए । साथै बिचौलिया मानसिकता भएकाहरूले जनतालाई दिग्भ्रमित पार्न मन्त्रीहरूलाई आइफोन वितरण गरिएको जस्ता हल्ला फैलाएको भन्दै उनले त्यस्ता कुरामा विश्वास नगर्न आग्रह गरे । मन्त्रीहरू कुनै लोभलालचमा नपर्ने र शैक्षिक, नैतिक तथा आर्थिक रूपमा सक्षम रहेको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले नुवाकोटका सबै नागरिकलाई यथास्थानमै भेट्ने योजना रहेको जानकारी दिए । आइतबारको कार्यतालिका अनुसार उनले दिउँसो २:०० बजे फलाटे बजार र २:३० बजे चोगते बजारमा स्थानीयसँग संवाद गर्नेछन् ।

त्यसैगरी विदुरमा हुने कार्यक्रमसँगै दिउँसो ३:३० बजे फेदीबेसी बजारमा भेटघाट गर्ने र अन्तिम कार्यक्रम साँझ ५:३० बजे शिवपुरीस्थित काफलडाँडामा सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ बाट २२ हजारभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका मन्त्री तिमिल्सिना मन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्