एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुईको मृत्यु, दुई घाइते



बर्दिया,बैशाख ६ । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार योग शिविरतर्फ जाँदै गरेका बेला तीव्र गतिमा रहेको एम्बुलेन्सले उनीहरूलाई ठक्कर दिएको हो। मृतक लामिछाने योग गुरु समेत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। घाइते दुवै जनाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।

घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्