देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं,वैशाख ६— सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म उक्त सेवा प्रदान गर्न लागेको हो।
स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। यस्तै, १ वर्षदेखि ५ वर्षमुनिका झन्डै २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि वितरण गरिँदैछ।
कार्यक्रम प्रभावकारी बनाउन देशभरका स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। यस अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको दृष्टि सुधार, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा बालबालिकाको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। जुकाको औषधिले पेटका किरा हटाउनुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुर्याउँछ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई विसं २०५९ देखि देशभर विस्तार गरिएको हो। त्यसैगरी, जुकाको औषधि वितरण कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा लागू गरिएको छ।
प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा बालबालिकालाई निःशुल्क रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ।

