आठ दिनदेखि बेपत्ता किशोरीको खोजी तीव्र



पर्वत,बैशाख ६ — जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन्। गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट घर फर्कने क्रममा उनी हराएकी हुन्।

प्रहरीका अनुसार मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडी चढेकी जैसी हालसम्म सम्पर्कमा आएकी छैनन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी कार्य तीव्र पारिएको जानकारी दिँदै मातहतका सबै प्रहरी युनिटलाई हुलियासहित खोजी जारी राख्न निर्देशन दिइएको बताए।

स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार पातीचौरमा झर्नुपर्ने जैसी त्यहाँ नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजास्थित मिलनचोकमा झरेको खुलेको छ। झर्नुपर्ने स्थानभन्दा करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेको जानकारी भए पनि त्यसपछिको अवस्था अझै अज्ञात रहेको उनले बताए।

जैसी देउपुरस्थित जननेत्र माध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना हुने तयारीमा थिइन्। परिवारले उनलाई देखेभेटेमा वा शंकास्पद गतिविधिबारे जानकारी पाएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरी खोजीमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्