जिम्मेवार पत्रकारितामा जोड दिन सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह
नुवाकोट, वैशाख ६— सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुभएको छ।
नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण पक्ष भए पनि यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पार्नुभयो। उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन कायम गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो।
“सरकार सबै समस्याको समाधान कानुनी कारबाहीबाट मात्र खोज्ने पक्षमा छैन,” उहाँले भन्नुभयो, “सञ्चार क्षेत्र स्वयं अनुशासित र जिम्मेवार बन्नु आजको आवश्यकता हो।” सञ्चारमाध्यमले प्रसारण गर्ने हरेक सामग्रीले समाजमा पार्ने प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उहाँले भ्रामक सूचनाले समाजमा अपूरणीय क्षति पुर्याउन सक्ने चेतावनी दिनुभयो।
मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन तथा सूचना प्रकाशनमा पारदर्शिता कायम गर्न नयाँ नीति कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। सरकारी सूचनाहरूलाई सरकारी सञ्चार माध्यममार्फत प्रवाह गर्ने व्यवस्था पारदर्शिताको महत्वपूर्ण कदम भएको उहाँको भनाइ छ। सञ्चार क्षेत्रमा रहेका अनियमितता हटाउन सरकार दृढतापूर्वक अघि बढेको पनि उहाँले बताउनुभयो।
श्रमजीवी पत्रकारहरूको हकहित र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तथ्यमा आधारित र समाधानमुखी पत्रकारिताले मात्र समाजको यथार्थ चित्रण गर्न सक्ने धारणा राख्नुभयो। “सरकार अफवाहमा होइन, नीति र नतिजामा विश्वास गर्छ,” उहाँले भन्नुभयो, “नागरिक र सञ्चार जगतले सत्यमा आधारित खबरदारी गरेमा मात्र सरकार थप जवाफदेही बन्न सक्छ।”
मन्त्री तिमिल्सिनाले नयाँ सरकार गठन भएको छोटो समयमै सुशासन, सेवा प्रवाहमा सुधार र विकासलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको दाबी गर्दै विगतका कमजोरी सच्याउँदै परिणाममुखी उपलब्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो। साथै, प्रविधिको अधिकतम प्रयोगमार्फत सार्वजनिक सेवालाई सहज बनाउने र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने दिशामा सरकार सक्रिय रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

