कोशीमा बर्डफ्लुको ठूलो प्रकोप : दुई फार्मका २ लाख २७ हजार कुखुरा नष्ट गरिँदै



विराटनगर, वैशाख ६ — कोशी प्रदेशकै सबैभन्दा ठूलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। सुनसरी र मोरङका दुई ठूला फार्ममा रहेका कुल २ लाख २७ हजारभन्दा बढी कुखुरा मार्ने तयारी गरिएको हो।

सुनसरीको रामधुनी नगरपालिकास्थित ‘सुनसरी पोल्ट्री फार्म’मा रहेका १ लाख ५५ हजार तथा मोरङको बुढीगङ्गास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा रहेका ७२ हजार कुखुरा नष्ट गर्न प्राविधिक तयारी पूरा भइसकेको छ। सरकारी टोलीले आजैदेखि कुखुरा नष्ट गर्ने (कुलिङ) कार्य सुरु गर्ने जनाएको छ।

पशु सेवा विभागले दुई दिनअघि नै ती फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि गरेको थियो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार हालसम्म करिब ७ हजार कुखुरा सङ्क्रमणका कारण मरेका छन् भने बाँकी कुखुरालाई थप संक्रमण फैलिन नदिन मार्नुपर्ने अवस्था आएको छ।

यति ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्न ११० जनाको टोली परिचालन गरिएको छ, जसमा फार्मका ८० जना कामदार र बाहिरबाट थपिएका ३० जना समावेश छन्। कुखुरा मार्ने र सुरक्षित रूपमा पुर्ने काम चुनौतीपूर्ण रहेको जनाइएको छ।

भेटेरिनरी अस्पताल मोरङका प्रमुख डा. अजयकुमार शाहका अनुसार बुढीगङ्गास्थित फार्मका कुखुरा पनि आजै नष्ट गरिनेछ। प्राविधिकका अनुसार सङ्क्रमित कुखुरालाई सावधानीपूर्वक मारेर गहिरो खाल्डोमा चुन र ब्लिचिङ पाउडर प्रयोग गरी पुर्ने प्रक्रिया अपनाइनेछ। यसका लागि डोजरसमेत प्रयोग गरिएको छ।

यसअघि नै सुनसरीका १६–१७ प्रभावित क्षेत्रमा २ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ। आजको घटनासँगै यो सङ्ख्या अझै बढ्ने भएको छ, जसले प्रदेशको पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।
बर्डफ्लुको प्रकोपले अर्बौंको लगानी जोखिममा परेको छ। साना किसानदेखि ठूला व्यवसायीसम्म प्रभावित भएका छन्। बैंक ऋण लिएर व्यवसाय गरेका किसानहरू विशेष गरी चिन्तित देखिएका छन्।

सरकारले बर्डफ्लुबाट प्रभावित किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरे पनि प्रक्रियागत ढिलाइ र बजेट अभावका कारण किसानहरूमा अन्योल कायम छ। यसैबीच प्रशासनले प्रभावित क्षेत्र सिल गर्दै कुखुरा, मासु, अण्डा तथा दानाको ओसारपसारमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्