मौसम अपडेट: आज राति केही स्थानमा वर्षा, तराईमा तातो बढ्ने



काठमाडौं, वैशाख ६ । मौसम पूर्वानुमान महाशाखाले आइतबार राति देशका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आइतबार साँझ जारी बुलेटिन अनुसार हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

सोमबार दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यस दिन मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तातो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, मङ्गलबार दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। सो दिन पनि मधेससहित विभिन्न प्रदेशका तराई तथा उपत्यकामा गर्मी बढ्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाले आगामी केही दिन मौसममा आंशिक परिवर्तनसँगै तराई क्षेत्रमा गर्मी बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्