ट्रेड युनियन अधिकार जोगाउन सरोकारवालाको चेतावनी
काठमाडौं,बैशाख ६ । ट्रेड युनियन अधिकार हनन हुन नहुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ३६औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित ‘सार्वजनिक सेवामा ट्रेड युनियन अभ्यास’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा वक्ताहरूले सरकारले कर्मचारीतन्त्रमा राजनीतिक दलनिकट विभिन्न सङ्गसङ्घठन खारेज गर्ने तयारी गरिरहेको सन्दर्भमा पनि ट्रेड युनियन अधिकार भने सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले लोकतान्त्रिक अभ्यास र श्रमिक अधिकारको संरक्षणका लागि ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण रहने बताए ।
नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले संविधानको मौलिक हकअन्तर्गत श्रमिकमा शारीरिक र बौद्धिक दुवै श्रमिक समेटिएको उल्लेख गर्दै संविधान संशोधन भए पनि आधिकारिक ट्रेड युनियन संरक्षित रहनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, पेसागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, सार्वजनिक सेवासम्बन्धी अन्तरराष्ट्रिय युनियनका अध्यक्ष भोला पोखरेल तथा सङ्गठनका महासचिव आरसी अधिकारीले ट्रेड युनियन अधिकारको ऐतिहासिक, कानुनी र अन्तरराष्ट्रिय अभ्यासबारे आ–आफ्ना धारणा राखेका थिए ।
सङ्गठनका अध्यक्ष भवानी न्यौपाने दाहालले संरक्षित अधिकारसहित पेसागत प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै, स्थापना दिवसको अवसरमा देशभर विभिन्न जिल्लामा पनि विविध कार्यक्रम आयोजना गरिएको सङ्गठनले जनाएको छ ।

