११ फिट लामो दुर्लभ राजगोमन सर्पको उद्धार, चुरे क्षेत्रमा पुनःस्थापना
धनुषा,बैशाख ७ । धनुषाको सीमावर्ती क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र करिब ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्प को सफल उद्धार गरिएको छ।
बाख्रा खोर नजिकै राखिएको दाउराको थुप्रोमुनि सर्प लुकेर बसेको अवस्थामा फेला परेपछि स्थानीयले खबर गरेका थिए। त्यसपछि मिथिला वाइल्ड लाइफ ट्रस्ट का अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुबोध आचार्य, गौतम मण्डलसहित सबडिभिजन वन कार्यालय लालगढ को संयुक्त टोलीले सर्पलाई नियन्त्रणमा लिएको थियो।
उद्धारपछि उक्त सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा लगेर छोडिएको जनाइएको छ। मण्डलका अनुसार चुरे क्षेत्र राजगोमन सर्प को प्राकृतिक बासस्थान भएकाले सोही क्षेत्रमा पुनःस्थापना गरिएको हो।
उद्धार टोलीले स्थानीय बासिन्दालाई सर्पको प्राकृतिक बानी, व्यवहार र वातावरणीय महत्वबारे जानकारी दिँदै भविष्यमा यस्ता सर्प देखिए सुरक्षित रूपमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे सचेतना पनि दिएको छ।
विशेषज्ञका अनुसार राजगोमन सर्प विश्वकै सबैभन्दा विषालु सर्पमध्ये एक मानिन्छ र यसको संरक्षण जैविक विविधता सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण रहेको छ।

