कागबेनी–छुसाङ सडक स्तरोन्नति तीव्र, कोरला नाका जोड्ने लक्ष्यमा प्रगति
मुस्ताङ, वैशाख ७ — छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डमा कालोपत्र तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ।
हिउँदयामको अत्यधिक चिसो, हिमपात तथा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही समय रोकिएको निर्माण कार्य पुनः सुरु भएसँगै कामले गति लिएको आयोजना कार्यालयले जनाएको छ।
कुल ९.८ किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्डमा हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार कागबेनी–छुसाङ खण्डलाई करिब ११ मिटर चौडाइमा स्तरोन्नति गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिनेछ।
आयोजनाअनुसार मुस्ताङको थासाङ–४ घाँसादेखि कोरला नाका हुँदै मुक्तिनाथ जोड्ने सडकको करिब ९८ प्रतिशत भागमा कालोपत्र सम्पन्न भइसकेको छ। अब बाँकी खण्डमा पनि स्तरोन्नति गरी पूर्ण रूपमा कालोपत्र गर्ने लक्ष्य राखिएको छ।
गत वर्ष असार २६ गते टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरिएको उक्त सडकखण्ड २०८४ असार २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ। प्रतिकूल मौसमका कारण करिब पाँच महिना काम प्रभावित भए पनि अहिले निर्माण कम्पनी पुनः सक्रिय भएको छ।
निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठका अनुसार हाल बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे क्षेत्रमा सडक संरचना निर्माणको काम भइरहेको छ। सडक स्तरोन्नतिका लागि पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेनिङ वाल निर्माण सम्पन्न भइसकेको छ भने ग्रेड मिलाउने, ड्रेनेज निर्माणलगायतका काम जारी छन्।
दैनिक ८० भन्दा बढी जनशक्ति परिचालन गरी काम भइरहेको जनाउँदै श्रेष्ठले इन्धन आपूर्ति सहज भएमा आगामी पाँच महिनाभित्र कागबेनी–तोङ्वेसम्म कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो।यसअघि असार र साउन महिनामा आएको बाढीपहिरोले सडकका केही भागमा क्षति पुर्याएको थियो। केही स्थानमा सडक भासिएको तथा बेस कमजोर बनेको भए पनि मर्मतसहित स्तरोन्नतिको काम अघि बढाइएको छ।
कोरला नाका जोड्ने छुसाङ–घमी र घमी–कोरला खण्डको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भइसकेको छ। उक्त सडकलाई पूर्ण रूपमा कालोपत्र गर्न करिब पाँच अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूले पर्याप्त बजेट विनियोजन भए उपल्लो मुस्ताङसम्मको सडक यातायात सहज हुने बताएका छन्।

