सुकुम्बासी उठिबासप्रति नेकपाको कडा आपत्ति, पुनर्वासबिना भत्काउने कार्य तत्काल रोक्न माग



काठमाडौं, वैशाख ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमा पार्टीले यस्ता कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र प्रभावित परिवारहरूको समुचित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ।

“समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ। यसैबीच, नयाँ सरकार गठनसँगै बजारमा महँगी र कालोबजारी बढेको आरोप लगाउँदै नेकपाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत प्रयोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

त्यस्तै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ।

विज्ञप्तिमा वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै सकारात्मक कार्यक्रमहरूको स्वागत गरिएको जनाइएको छ। तर, शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिप्रति भने पार्टीले असन्तुष्टि जनाएको छ।

नेकपाले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्