देशभर आंशिक बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, वैशाख ७ — हाल देशमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने केही स्थानमा मौसम खुल्नेछ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
त्यसैगरी, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो दिनको अनुभूति हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ।

