अक्षय तृतीया आज: सातु र सर्वत दानसहित श्रद्धापूर्वक मनाइँदै



काठमाडौं, वैशाख ७ — प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान तथा सेवन गर्दै श्रद्धापूर्वक मनाइँदैछ।

शास्त्रीय परम्पराअनुसार आज बिहान सबेरै उठी घर लिपपोत गरी स्नान पश्चात् पूजा–आराधनाको तयारी गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखेर भगवान् विष्णुको सोह्र सामग्रीद्वारा विधिपूर्वक पूजा गर्ने चलन छ। साथै पुरोहितलाई सम्मान गर्दै शुद्ध जलमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर बनाइएको सर्वत तथा जौँको सातु दान गर्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार आजका दिन गरिएको स्नान, दान, जप, तपजस्ता पुण्य कर्म कहिल्यै नास नहुने विश्वास गरिन्छ। वैशाखको गर्मीमा सातु र सर्वत अमृतसरह हुने भएकाले यसको सेवन र दान गर्ने परम्परा वैदिककालदेखि चलिआएको हो।

धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रा. तोयराज नेपालका अनुसार सातु र सर्वतले शरीरलाई गर्मीबाट जोगाउनुका साथै शक्ति प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्दछ। उहाँका अनुसार “थोरै दान गरे पनि धेरै फल प्राप्त हुने भएकाले यस दिनलाई ‘अक्षय’ अर्थात् कहिल्यै नास नहुने फल दिने तिथि मानिन्छ।”
यस दिन दान गरिने घडालाई धर्मघट दान पनि भनिन्छ। परम्पराअनुसार ज्येष्ठ नागरिकलाई छाता, लौरो र जुत्ता दान गर्ने तथा सामर्थ्यअनुसार गाई, जमिन, अन्न र सुन दान गर्ने चलन छ। यस्ता दान असहाय तथा विपन्न वर्गलाई समेत प्रदान गरिन्छ।

पौराणिक विश्वासअनुसार आजकै दिन सत्ययुगमा भगवान् शिव र पार्वतीको विवाह भएको तथा त्रेतायुगको प्रारम्भ भएको मानिन्छ। यस कारण आज विवाहका लागि विशेष साइत हेर्नु नपर्ने मान्यता समेत रहेको छ।

अक्षय तृतीयाको अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले पूजा, आराधना र दर्शन गरी पर्व मनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्