काठमाडौँ–ढाका सिधा उडान तयारीमा निगम, दिल्ली रुटमा पनि विस्तार



काठमाडौँ, वैशाख ७ — नेपाल वायु सेवा निगम ले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाका सम्म सिधा उडान सञ्चालन गर्ने तयारी थालेको छ।

निगमले उक्त उडानका लागि सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजाल का अनुसार छिमेकी देश भए पनि हालसम्म नेपाली ध्वजावाहक विमानले ढाकामा सिधा उडान गर्न सकेको थिएन। सोही आवश्यकता पूरा गर्न पहल सुरु गरिएको उहाँले बताउनुभयो।

हाल बङ्गलादेशबाट काठमाडौँमा नियमित उडान भइरहे पनि राष्ट्रिय ध्वजावाहकको प्रत्यक्ष सेवा भने उपलब्ध छैन। निजी क्षेत्रको हिमालयन एयरलाइन्स ले भने ढाकामा उडान सञ्चालन गर्दै आएको छ। अध्ययन समितिको प्रतिवेदनका आधारमा निगमले उडान तालिका तय गर्ने जनाएको छ।

यसैबीच, निगमले काठमाडौँ–दिल्ली–काठमाडौँ रुटमा उडान सेवा थप विस्तार गरेको छ। गत चैत १७ गतेदेखि लागू हुने गरी सातामा थप तीन उडान थपिएसँगै अब उक्त रुटमा साप्ताहिक १० उडान सञ्चालन भइरहेको छ।

त्यसैगरी, कार्गो सेवा सुधार र प्रभावकारी व्यवस्थापनका लागि निगमले कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स समेत गठन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्