गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “हल्ला धेरै, तर तथ्य फरक छन्”
काठमाडौं, बैशाख ७ । गृहमन्त्री सुदन गुरुङ ले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेका विभिन्न आरोपबारे सोमबार सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्। उनले फेसबुकमार्फत लामो स्टाटस लेख्दै सार्वजनिक रूपमा उठाइएका विषयहरूलाई “हल्ला र तथ्यबीचको भ्रम” भएको बताएका हुन्।
मन्त्री गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै आफूले धितोपत्र बजारमा रहेका २ करोड रुपैयाँभन्दा बढीको लगानी सम्पत्ति विवरणमै खुलाइसकेको स्पष्ट पारे। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्र समेटिएको उनको भनाइ छ। “लुकाउने मान्छेले खुला रूपमा यति ठूलो रकम देखाउँदैन,” उनले उल्लेख गरेका छन्।
उनले मन्त्री बन्नुअघि सेयर खरिद गरेको विषयलाई पनि अपराधका रूपमा चित्रण गर्न नमिल्ने बताएका छन्। सम्पूर्ण लगानी बैंकिङ प्रणालीमार्फत भएको र त्यसको स्पष्ट रेकर्ड रहेको भन्दै उनले पारदर्शितामा कुनै शंका नरहेको दाबी गरे।
स्रोतबारे उठेको प्रश्नमा उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार कर्जा लिएर लगानी गरेको जनाएका छन्। सो रकम बैंकिङ च्यानलमार्फत आएको र प्रयोग भएको उनले स्पष्ट पारे। “विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपलाई उनले अस्वीकार गर्दै एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नहुने तर्क गरेका छन्। “यदि त्यसो हो भने सो कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्छ, जुन न्यायोचित हुँदैन,” उनले भने।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय सम्पत्ति शुद्धिकरण विभाग भएको र सोही निकायले प्रक्रिया अनुसार अनुसन्धान गरिरहेको बताएका छन्। आफूले कुनै हस्तक्षेप नगरेको पनि उनले जिकिर गरेका छन्।
लगानी गर्दा पृष्ठभूमि नजाँचेको भन्ने आलोचनाप्रति उनले व्यापारिक निर्णयमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछि भएको घटनालाई अघिल्लो निर्णयको दोष बनाउनु उचित नहुने बताए।
त्यस्तै, कानुनी रूपमा संवेदनशील विषय भएकाले तत्काल प्रतिक्रिया नदिनु उचित भएको पनि उनले स्पष्ट पारे। “हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ,” उनले लेखेका छन्।
अन्त्यमा मन्त्री गुरुङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै सबै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। साथै, पार्टीले गर्ने निर्णय स्वीकार गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

