इन्धन मूल्यवृद्धिको चर्को विरोध : लुम्बिनी प्रदेशसभाद्वारा निर्णय फिर्ता लिन माग
लुम्बिनी, वैशाख ७ — लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर पारेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन्।
बैठकमा बोल्दै प्रदेशसभा सदस्य कृष्णा कुश्मा थारुले इन्धनको मूल्य बढ्दा आम नागरिक प्रत्यक्ष मारमा परेको बताइन्। इन्द्राकुमारी गहतराजले पनि मूल्यवृद्धि तुरुन्त फिर्ता लिनुपर्ने माग राखिन्।
प्रदेशसभा सदस्य हेमा बेल्वासेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सीमापारिबाट ल्याइने सामान्य घरायसी सामानमा १०० रुपैयाँभन्दा माथि भन्सार तिर्नुपर्ने व्यवस्थाप्रति आपत्ति जनाइन्। उनले इन्धन महँगिँदा सिँचाइ खर्च, ट्याक्टर भाडा तथा उत्पादन लागत बढ्ने भएकाले किसान पलायन हुने अवस्था आउन सक्ने चेतावनी दिइन्।
त्यस्तै, प्रदेशसभा सदस्य तारा थापाले अत्यधिक मूल्यवृद्धिका कारण विपन्न वर्गको दैनिक जीवन झन् कठिन बन्दै गएको उल्लेख गर्दै तत्काल राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्। मीनाकुमारी बोहराले अर्थतन्त्र सुधारतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखिन् भने मीनाकुमारी श्रेष्ठले बाँकेको दक्षिण क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि रोकिएका आयोजनालाई पुनः सञ्चालन गर्नुपर्ने बताइन्।
प्रदेशसभा सदस्य लोकाकुमारी विश्वकर्माले रातो किताबमा विनियोजित बजेट कार्यान्वयनमा समस्या रहेको औँल्याइन्। विष्णुप्रसाद पन्थीले सामाजिक सञ्जाल कम्पनी ‘मेटा’लाई कानुनी दायरामा ल्याई नेपालमा प्रचलित कानुनअनुसार राजस्व तिर्न बाध्य बनाउनुपर्ने धारणा राखे।
बैठकमा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलित अधिकारसम्बन्धी विधेयकमाथिको समितिको प्रतिवेदन प्रस्तुत गरे। त्यसैगरी, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरेका थिए।

