गल्छी-रसुवागढी सडक: ७ दिनभित्र घर टहरा नहटाए सडक योजनाले नै भत्काउने चेतावनी



नुवाकोट,बैशाख ७ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाले सडक सीमाभित्र पर्ने घर तथा टहराहरू तत्काल हटाउन पुनः सूचना जारी गरेको छ। योजनाअन्तर्गत नुवाकोट जिल्लामा पर्ने सडकको दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र रहेका संरचनाहरू हटाउन निर्देशन दिइएको हो।

यसअघि नै सूचना प्रकाशित गरी पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम समेत वितरण गरिसक्दा पनि केही घरधनीहरूले तोकिएको समयभित्र संरचना नहटाएको जनाइएको छ। मुआब्जा/क्षतिपूर्ति निर्धारण समितिको मिति २०८२ चैत २७ गतेको निर्णय तथा २०८३ वैशाख ४ गते गोरखापत्रमा प्रकाशित सूचनाका आधारमा पुनः कडाइ गरिएको हो।

योजनाले सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ (२) अनुसार अधिकार प्रयोग गर्दै अटेर गर्ने घरधनीका संरचना जुनसुकै बेला भत्काइने जनाएको छ। साथै, भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घरधनीबाटै असुल गरिने चेतावनी दिइएको छ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र घर/टहरा आफैं भत्काई आवश्यक सरसामान सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। अन्यथा, योजनाले नै डोजर प्रयोग गरी संरचना हटाउने स्पष्ट पारिएको छ।

स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गर्दै सडक विस्तारको काम तीव्र बनाइने योजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्