रास्वपामा नयाँ जिम्मेवारी हेरफेर, भूपदेव शाह महामन्त्री मनोनित



काठमाडौं, वैशाख ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न पदमा नयाँ मनोनयन गरेको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा मनोनित गरेको छ। त्यस्तै, सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई नियुक्त गरिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा मनोनित भएका छन्।

यसैगरी, सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई जिम्मेवारी दिइएको छ। बैठकमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो।

यससँगै रास्वपाले लेबी सम्बन्धी व्यवस्था पनि परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार सांसदले मासिक १५ हजार रुपैयाँ, मन्त्रीले १८ हजार रुपैयाँ र स्वकीय सचिवले २ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय गरिएको छ।

पार्टीले यी निर्णयमार्फत संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्