कांग्रेसका जिल्ला सभापति तामाङसँग ३ दिनभित्र स्पष्टिकरण माग
काठमाडौं, वैशाख ७ — नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमिति सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सँग ३ दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
समितिका सचिव दिनेश थापामगरका अनुसार जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेका तामाङले पार्टी तथा पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकालिएको छ।
तामाङले गगन थापासँग सम्बन्धित आर्थिक आरोप लगाउँदै दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुशासन समितिले चासो दिएको हो।
समितिले सो कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ अन्तर्गतका विभिन्न उपधाराहरू (१ (क), (ख), (ग), (ङ), (च)) अनुसार अनुशासन उल्लंघन भएको ठहर गरेको जनाएको छ।
उक्त घटनाका सम्बन्धमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम तामाङलाई ३ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

