ऋण लिएर सेयर खरिद गरिएको गृहमन्त्री गुरुङको स्पष्टीकरण



काठमाडौं,बैशाख ८ । गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय उठेको विवादबारे सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको छानबिनका सन्दर्भमा स्पष्टीकरण दिनुभएको छ।

सोमबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको स्पष्टीकरणमा मन्त्री गुरुङले प्रमाणका आधारमा दोष देखाउन आग्रह गर्दै अनुसन्धानमा आवश्यक परे पूर्ण सहयोग गर्ने र पार्टीको निर्णय मान्ने बताउनुभएको छ।

उहाँले मन्त्रिपरिषद्मा पेश गरेको आफ्नो सम्पत्ति विवरणमा श्रोतसमेत खुलाइएको स्पष्ट पार्दै ऋण लिएर सेयर खरिद गरिएको र सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत् भएको उल्लेख गर्नुभएको छ। यस कारण कुनै पनि कुरा लुकाइएको नभएको दाबी उहाँको छ।

सेयर खरिदकै आधारमा व्यापारिक साझेदारी हुने भन्ने निष्कर्ष गलत रहेको उल्लेख गर्दै कम्पनीमा सेयर लगानीकर्ता जोसुकै हुन सक्ने भएकाले यसलाई विवादको विषय बनाइनु उचित नभएको मन्त्री गुरुङले बताउनुभएको छ। साथै, आफूलाई नियोजित रूपमा विवादमा ल्याउने प्रयास भइरहेको पनि उहाँको भनाइ छ।

सम्पत्तिको स्रोत तथा विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्भावित साझेदारीबारे उठेका प्रश्नका बीच गृहमन्त्री गुरुङको पछिल्लो स्पष्टीकरण सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्