त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने



काठमाडौँ,बैशाख ८ — पूर्वाधार निर्माणलाई तीव्रता दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी जेठ ४ गतेसम्म दैनिक सात घण्टा बन्द गरिने भएको छ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सञ्चालनका लागि प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।

हाल विमानस्थलको धावनमार्ग नजिकको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य जारी रहेको छ। सुरक्षालाई प्राथमिकता दिँदै रातिको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण कार्यलाई छिटो सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ। साथै, यसबाट यात्रु तथा उडान सेवामा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न हवाई सेवा प्रदायकहरूलाई आवश्यकताअनुसार उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्