सीमा नाका ७२ घण्टा बन्द, पश्चिम बङ्गाल चुनाव लक्षित
काठमाडौँ,बैशाख ८ — भारतको पश्चिम बङ्गाल प्रान्तमा हुन लागेको विधानसभाको चुनावलाई लक्षित गर्दै नेपाल–भारत पूर्वी सीमा क्षेत्रका नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार ‘बोर्डर शिल’ अवधिभर सामान्य आवतजावत रोकिनेछ।
पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ। यसअघि पनि नेपाल र भारतबीच चुनावका बेला सहमतिमा सीमा नाका अस्थायी रूपमा बन्द गर्ने अभ्यास रहँदै आएको छ।
प्रहरीका अनुसार बन्द अवधिमा पैदल यात्रु र सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिए पनि बिरामीको उपचार तथा अन्य अतिजरुरी कामका लागि परिचयपत्र देखाएर आवतजावत गर्न दिइनेछ।
यस्तै, नेपाल र बङ्गलादेशका पर्यटकले आफ्नो मुलुक फर्कनुपर्ने अवस्थामा आवश्यक कागजात देखाएमा भारतीय प्रशासनले सहजीकरण गर्ने व्यवस्था गरिएको बताइएको छ।

