राहुघाट जलविद्युत् आयोजना ९५ प्रतिशत सम्पन्न, परीक्षण उत्पादनको तयारी



काठमाडौँ,बैशाख ८— नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ।

सुरुङ, बाँध र विद्युत्गृहलगायतका संरचना निर्माण तथा उपकरण जडान अन्तिम चरणमा पुगेसँगै आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो। कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य राखिएको छ। “सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकल संरचनाको काम सकिएर फिनिसिङ भइरहेको छ,” उनले भने, “सुरुङका प्रवेशमार्ग बन्द गरी पानी भरेर परीक्षण गर्ने तयारी भइरहेको छ।”

भारतीय ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले सन् २०१७ नोभेम्बर १७ मा करिब ६ अर्ब रुपैयाँमा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। विभिन्न कारणले म्याद थपिँदै गएकोमा हाल चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको जनाइएको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध निर्माण, ६.२७ किलोमिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्याउने पोखरी निर्माण सम्पन्न भइसकेको छ। तिल्केनीचौरस्थित विद्युत्गृह निर्माण सकिएर रङरोगनको काम भइरहेको छ।

आयोजनामा २० मेगावाट क्षमताको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका उपकरण जडान अन्तिम चरणमा पुगेका छन्।विद्युत्गृह परिसरमा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्डसमेत तयार पारिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्