उदयपुरमा आगलागी र सवारी दुर्घटना : तीन जनाको मृत्यु
उदयपुर, वैशाख ८ । उदयपुरको चौदण्डी गढी नगरपालिका–७ स्थित बेल्टार बजारमा आज बिहान भएको आगलागीमा परी दुई जनाको ज्यान गएको छ। आगलागीमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बेल्टार बजारस्थित लक्ष्मीनारायण खड्काको घरमा लागेको आगोले उनीहरू दुवै जनाको ज्यान लिएको हो। उक्त आगलागीबाट छिमेकी रवीन दास र सकल देवका घरमा समेत क्षति पुगेको छ।
आगलागी नियन्त्रणका लागि त्रियुगा नगरपालिका र चौदण्डी गढी नगरपालिकाका दमकल, प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए। आगलागीको कारण विद्युत् चुहावट वा अन्य के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट करिब ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
यसैबीच, उदयपुरकै बेलका नगरपालिका–३ सातपत्रेमा गए राति जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा २७ वर्षीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सातपत्रेबाट रामपुर बजारतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई चौदण्डी गढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कँदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

