गृहमन्त्री गुरुङको राजीनामा माग
काठमाडौँ, वैशाख ८ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले विवादमा मुछिएका गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनु उपयुक्त हुने प्रतिक्रिया दिनुभयो। उहाँले गृहमन्त्रीसँग सम्बन्धित नयाँ–नयाँ विवादका विषयहरू सार्वजनिक भइरहेकाले मार्ग प्रशस्त गर्नु उचित हुने सुझाव दिनुभयो।
अध्यक्ष राईका अनुसार गृहमन्त्रीबारे बारम्बार नयाँ प्रश्न उठ्नु सकारात्मक नभएको उल्लेख गर्दै यसले सरकारप्रतिको विश्वासमा असर पार्न सक्ने बताउनुभयो। “हप्तामा दुई–तीन पटक नयाँ–नयाँ कुरा सुनिनु राम्रो होइन, यस्तो अवस्थामा उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्छ,” अध्यक्ष राईले भन्नुभयो।
उहाँले सरकारलाई सुशासन कायम गर्ने दिशामा केन्द्रित हुन पनि सचेत गराउनुभएको छ।

