संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु



काठमाडौँ, वैशाख ९ — नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको समितिले मंगलबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।

पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरी सहभागी थिए।

बैठकमा सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीबारे स्पष्ट पार्दै संविधान जारी भएको एक दशकभन्दा बढी भइसकेकाले अभ्यासका क्रममा केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संशोधनको प्रक्रिया अघि बढाउन सुझाव दिएका छन्।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्रारम्भमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि मस्यौदा तयार पारिनेछ। त्यसपछि सरोकारवाला निकाय, विज्ञ तथा आम नागरिकसँग विस्तृत छलफल गर्ने योजना रहेको छ।

यसैबीच सरकारले पनि संविधान संशोधनका लागि छुट्टै समिति गठन गरी कांग्रेससँग प्रतिनिधित्वका लागि अनुरोध गरिरहेको छ। तर उक्त सरकारी समितिमा प्रतिनिधि पठाउनेबारे पार्टीले हालसम्म कुनै निर्णय नगरेको कटुवालले जानकारी दिए। उनका अनुसार सरकारले शुक्रबारसम्म प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ भने कांग्रेसको समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय गरिएको छ।

कांग्रेसद्वारा गठित समितिमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्