पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विद्यार्थी आक्रोश: प्रदर्शनीमार्गमा राँके जुलुस
काठमाडौँ, वैशाख ९ — पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले मंगलबार काठमाडौँको प्रदर्शनीमार्गमा राँके जुलुससहित प्रदर्शन गरेका छन्।
विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन्।
विद्यार्थी नेताहरूले सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढाएको आरोप लगाउँदै त्यसलाई तत्काल रोक्न माग गरेका छन्।उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न तथा विद्यार्थी संगठनहरू खारेज गर्ने प्रयास नगर्न सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले “पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर”, “विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर” र “विद्यार्थी संगठन खारेज गर्न पाइँदैन” लगायतका प्लेकार्ड बोकेका थिए।

